
नुवाकोट साततले दरबार पुनर्निर्माणको तयारी, विध्वंस कार्य सुरु
२०७२ सालको विनाशकारी गोरखा भूकम्पले गम्भीर क्षति पुर्याएको यस दरबारको पुनर्निर्माण चीन सरकारको आर्थिक तथा प्राविधिक सहयोगमा सुरु भएको हो।

सावधानीपूर्वक हटाइँदै संरचना
पुनर्निर्माण अघि गरिएको प्राविधिक सर्वेक्षणपछि अहिले स्क्राफ फोल्डिङ (मचान) को प्रयोग गरेर दरबारको क्षतिग्रस्त छाना, झ्याल, बुर्जा, बार्दलीलगायत संरचनात्मक भागहरू सावधानीपूर्वक हटाइँदै छन्।
पुरातत्व विभागका अनुसार ऐतिहासिक सम्पदाका मौलिक सामग्री नष्ट नहोस् भन्ने विशेष ध्यान दिइएको छ।
पृथ्वीनारायण शाहद्वारा निर्माण गरिएको दरबार
नुवाकोटको यो दरबार पृथ्वीनारायण शाहले १८०१ सालमा नुवाकोट विजयपछि निर्माण गराएका थिए। एकीकरणको ऐतिहासिक सन्देश बोकेको यस दरबार २०७२ सालको भूकम्पपछि पुनर्निर्माणको आवश्यकता देखिएको हो।
चिनियाँ संस्था मार्फत पुनर्निर्माण
पुनर्निर्माणको जिम्मेवारी चाइनिज एकेडेमी अफ कल्चरल हेरिटेजले लिएको छ। संस्था अनुसार २०८३ साल असोजभित्र काम सम्पन्न गरी दरबार नेपाली पक्षलाई हस्तान्तरण गरिनेछ।
हाल विध्वंस कार्यको क्रममा दरबारको संरचनागत अवस्था पुनः मूल्यांकन भइरहेको छ। आवश्यकता अनुसार पूर्ण वा आंशिक रूपमा पुनर्निर्माण गरिने जनाइएको छ। हालसम्म दरबारको जगदेखि तेस्रो तलासम्मको संरचना सुरक्षित भेटिएको छ।
अन्य सम्पदाहरूको पनि पुनर्निर्माण

यो परियोजनाअन्तर्गत तुलजा भवानी मन्दिर (तलेजु), गारदघर, रंगमहल, लामपाटी, शीतलपाटी, नारायण र विष्णु मन्दिरलगायत ८ वटा ऐतिहासिक संरचनाहरूको समेत पुनर्निर्माण गरिनेछ।
पुरातात्विक महत्त्व बोकेको लिच्छविकालीन तुलजा भवानी मन्दिरको पुनःनिर्माण विशेष संरक्षणका साथ गरिने बताइएको छ।

