
तारकेश्वर गाउँपालिकाका वडाध्यक्ष नारायणप्रसाद रिमालको निधन
तारकेश्वर गाउँपालिका, वडा नं. ६ का वडाध्यक्ष नारायणप्रसाद रिमालको निधन भएको छ। उनको निधन सोमवार विहान काठमाडौंको विर अस्पतालमा उपचारकालमा भएको हो। गाउँपालिकाका अध्यक्ष शिव अधिकारीले यस्तो जानकारी दिएका छन्।

४५ वर्षीय रिमाल लामो समयदेखि मृगौला रोगले पीडित थिए। चिकित्सकले आराम गर्न सुझाव दिएता पनि उनी वडा कार्यालयको काममा सक्रिय रहेका थिए। उनी नेकपा एमालेको नुवाकोट जिल्ला सचिवालय सदस्य पनि थिए। उनको अन्त्येष्टि तारकेश्वरको बुनेबेशीघाटमा केही समयपछि गरिने नेकपा एमाले नुवाकोटले जनाएको छ।
रिमाल २०७९ सालको स्थानीय तह निर्वाचनमा नेकपा एमालेबाट वडाध्यक्षमा विजयी भएका थिए। उनको निधनको कारण तारकेश्वर गाउँपालिकाले आज पालिकाभर सार्वजनिक विदा दिने निर्णय गरेको छ।
गाउँपालिका अध्यक्ष अधिकारीले शोक वक्तव्य जारी गर्दै यो घटनाले गाउँपालिकालाई अपूरणीय क्षति पुगेको बताएका छन्।

